
इटालीले इजरायलसँगको लामो समयदेखिको रक्षा सम्झौता निलम्बन गर्ने निर्णय गरेको छ। इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनी ले भेरोनामा आयोजित कार्यक्रममा सम्झौताको स्वचालित नवीकरण प्रक्रिया रोकिएको जानकारी दिएकी हुन्।

सन् २००६ मा सुरु भएको यो सम्झौताअन्तर्गत दुई देशबीच रक्षा उद्योग, सैन्य तालिम, अनुसन्धान तथा प्रविधि विकासमा सहकार्य हुँदै आएको थियो। तर पछिल्लो समय पश्चिम एसियामा बढ्दो तनाव, विशेषगरी लेबनानमा भएको हिंसात्मक घटनाले सम्बन्धमा दरार ल्याएको छ।

इटालियन शान्ति सैनिकमाथि चेतावनी स्वरूप गोली प्रहार भएपछि दुई देशबीच कूटनीतिक असन्तुष्टि बढेको थियो। इटालीले इजरायली राजदूतलाई बोलाएर कडा आपत्ति जनाएको थियो भने इजरायलले पनि जवाफी कदम चालेको बताइएको छ।

इटालीका विदेश मन्त्री एन्टोनियो ताजानीले इजरायलका सैन्य कारबाहीलाई अस्वीकार्य भन्दै कडा आलोचना गरेका थिए। यस निर्णयले इजरायलको युरोपमा महत्वपूर्ण रक्षा साझेदार गुम्ने सम्भावना बढाएको छ, यद्यपि इजरायलले औपचारिक प्रतिक्रिया दिएको छैन।































