
भारत झारखण्डका ७ वर्षीय ईशांक सिंहले श्रीलंकादेखि भारतसम्म पौडिएर विश्व कीर्तिमान कायम गरेका छन्। उनले तलाईमन्नार (श्रीलंका) देखि धनुषकोडी (भारत) सम्मको करिब २९ किलोमिटर दूरी ९ घण्टा ५० मिनेटमा पार गरेका हुन्।

युनिभर्सल रेकर्ड्स फोरमले उनको उपलब्धिलाई आधिकारिक रूपमा प्रमाणित गरेको छ। यससँगै उनी सबैभन्दा कम उमेरमा यस्तो साहसिक उपलब्धि हासिल गर्ने पौडीबाज बनेका छन्। यसअघि यो कीर्तिमान जय जसवन्तको नाममा रहेको थियो, जसले १० वर्षको उमेरमा उक्त दूरी पार गरेका थिए।

कक्षा ३ मा अध्ययनरत ईशांकले धुर्वा बाँधमा दैनिक ४–५ घण्टा अभ्यास गर्दै प्रशिक्षक अमन जयसवाल र बजरंग कुमारको मार्गदर्शनमा तयारी गरेका थिए।

उनको सफलताप्रति भारतका केन्द्रीय राज्यमन्त्री संजय सेठले बधाई दिँदै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका छन्।































