
इरानले विश्वकै अत्यन्त संवेदनशील समुद्री व्यापार मार्ग स्ट्रेट अफ हर्मुजमा आफ्नो नियन्त्रण अझ कडा बनाउँदै नयाँ व्यवस्थापन तथा अनुगमन क्षेत्रको सीमा औपचारिक रूपमा निर्धारण गरेको छ। यससँगै “पर्सियन गल्फ स्ट्रेट अथोरिटी (PGSA)” स्थापना गरी जलघाँटी पार गर्ने जहाजहरूले अनिवार्य समन्वय र अनुमति लिनुपर्ने व्यवस्था लागू गरिएको छ।

नयाँ नियमअनुसार कुह मोबारकदेखि यूएईको फुजैरासम्म फैलिएको समुद्री क्षेत्रलाई निगरानी दायरामा राखिएको छ। इरानको केश्म टापु र यूएईको उम्म अल–कैवेनबीचको काल्पनिक रेखाबाट यो व्यवस्थापन क्षेत्र सुरु हुने बताइएको छ।
PGSA ले स्ट्रेट अफ हर्मुज हुँदै यात्रा गर्ने सबै जहाजहरूले पूर्वअनुमति लिनुपर्ने र अनुमति बिना प्रवेश निषेध हुने स्पष्ट पारेको छ। यसलाई जलमार्गको सुरक्षा, सञ्चालन र व्यवस्थापन सुधार्ने उद्देश्यका रूपमा लिइएको छ।


यो निर्णय अमेरिका–इरानबीचको तनाव र आणविक वार्तामा प्रगति नहुँदा आएको हो। इरानले यसलाई ऊर्जा सुरक्षा र राष्ट्रिय अधिकारसँग जोडेको छ। विश्लेषकहरूले यसलाई विश्व ऊर्जा आपूर्तिमा प्रभाव पार्ने रणनीतिक कदमका रूपमा हेरेका छन्।
स्ट्रेट अफ हर्मुज विश्वको प्रमुख तेल ढुवानी मार्गमध्ये एक भएकाले यस क्षेत्रमा इरानको नयाँ कडाइले अन्तर्राष्ट्रिय व्यापार र ऊर्जा आपूर्तिमा चासो बढाएको छ।































