
सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कैलालीको गोदावरी नगरपालिका–२ स्थित सैनिक आवासीय महाविद्यालय तेघरीले उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो वर्चस्व कायम गरेको छ। डडेल्धुरामा सम्पन्न प्रतियोगितामा कैलालीले ३२ स्वर्ण, १७ रजत र ९ कास्य पदकसहित प्रथम स्थान हासिल गर्दा तेघरीका छात्र सुरेश चौधरी सबैभन्दा चम्किला खेलाडी बने।

चौधरीले एक्लै ३ स्वर्ण र १ रजत पदक जित्दै प्रतियोगिताको सर्वाधिक पदक विजेता खेलाडीको कीर्तिमान बनाए। प्रतियोगितामा सहभागी तीन जिल्ला स्वर्णविहीन रहँदा उनले मात्र चार पदक जितेर आफ्नो प्रतिभा प्रमाणित गरेका हुन्।

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा भएको प्रतियोगिताबाट चौधरीले राष्ट्रियस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि समेत स्थान सुरक्षित गरेका छन्।

पढाइसँगै खेलकुद र अतिरिक्त क्रियाकलापमा पनि उत्कृष्ट मानिने सैनिक आवासीय महाविद्यालय तेघरीका विद्यार्थीहरूले यसअघि जिल्ला स्तरीय प्रतियोगितामा समेत १० पदक जितेका थिए। त्यहाँ पनि सुरेश चौधरीले स्वर्ण पदक जित्दै आफ्नो क्षमता देखाएका थिए। विद्यालय र जिल्लाको गौरव बढाएका चौधरीको सफलताले खेलकुद क्षेत्रमा नयाँ प्रेरणा थपेको छ।
































