
सिलगढीः डोटीको बोगटान फुड्सिल गाउँपालिकामा सञ्चालन गरिएको निःशुल्क आँखा शल्यक्रिया शिविर सफलतापूर्वक सम्पन्न भएको छ । वडा नम्बर ७ चवराचौतारामा हिजोदेखि सुरु गरिएको शिविर आज सम्पन्न भएको हो । शिविरमार्फत स्थानीय नागरिकले आँखासम्बन्धी उपचार सेवा आफ्नै गाउँमै सहज रूपमा प्राप्त गर्न सकेका छन् ।

बोगटान फुड्सिल गाउँपालिका, डाक फाउन्डेसन र च्यारिटी हेल्थ फाउन्डेसन नेपालको आर्थिक सहयोग तथा धनगढी नेत्रालय प्रा.लि. र श्रीकृष्ण आँखा अस्पताल प्रा.लि.को प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो । दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गर्दै आयोजना गरिएको यस शिविरले स्थानीय स्तरमै विशेषज्ञ सेवा उपलब्ध गराएको हो ।

गाउँपालिका अध्यक्ष कमल बहादुर गड्सिलाका अनुसार शिविरमा ३७ जनाको सफल आँखाको शल्यक्रिया गरिएको छ भने २२८ जनाले विभिन्न आँखा सम्बन्धी सेवा लिएका छन् । उनले पालिकाभरि आँखासम्बन्धी समस्या भएका नागरिकलाई लक्षित गरी शिविर आयोजना गरिएको जानकारी दिँदै यसले समुदायमा ठूलो राहत पुर्याएको बताए ।

अध्यक्ष गड्सिलाले भने, “धनगढी जस्ता ठूला शहरमा गएर महँगो खर्च र समय खर्चिनुपर्ने बाध्यता हटेको छ । पालिकामै निःशुल्क शल्यक्रिया सेवा उपलब्ध भएपछि नागरिकलाई आर्थिक र समय दुवै हिसाबले ठूलो राहत मिलेको छ ।”
शिविरमा आएका सेवाग्राहीहरूले पनि स्थानीय तहमै विशेषज्ञ सेवा पाउँदा खुसी व्यक्त गरेका छन् । टाढा–टाढा जानुपर्ने, यातायात खर्च र उपचार खर्चको बोझ झेल्नुपर्ने अवस्थाबाट मुक्त भएको भन्दै उनीहरूले गाउँपालिकाको पहललाई सराहना गरेका छन् ।
दुर्गम क्षेत्रमा आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यसहित गरिएको यस्तो शिविरले स्थानीय स्वास्थ्य सेवामा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ । आयोजकहरूले आगामी दिनमा पनि यस्ता स्वास्थ्य शिविरलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् ।

































