
काठमाडौँः निजामती कर्मचारी, अवकाशप्राप्त कर्मचारी तथा उनीहरूका आश्रित परिवारलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले निजामती कर्मचारी अस्पतालको सेवा प्रदेशस्तरमा विस्तार गरिएको छ।

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै अब उक्त अस्पतालले प्रदान गर्दै आएको छुट तथा सहुलियतसहितको उपचार सेवा प्रदेशस्तरबाट पनि उपलब्ध हुने जनाएको छ। प्रारम्भिक चरणमा सेवा भरतपुर अस्पताल, चितवन र नारायणी अस्पताल, वीरगञ्जबाट सुरु गरिएको छ।
नेपाल सरकारको नीति अनुसार सोमबार (जेठ २५) देखि लागू हुने यो सेवाबाट निजामती कर्मचारी अस्पतालबाट आधिकारिक परिचयपत्र प्राप्त गरेका बहालवाला तथा अवकाशप्राप्त कर्मचारी र उनीहरूका आश्रित परिवारले लाभ लिन सक्नेछन्। सेवा लिन जाँदा परिचयपत्र अनिवार्य गरिएको छ।


मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको समन्वयमा सेवा प्रदायक अस्पतालहरूको सूचीकरण सम्पन्न भइसकेको छ। बाँकी प्रदेशहरूमा पनि क्रमशः सेवा विस्तार गर्ने तयारी भइरहेको छ।
यस व्यवस्थाले उपत्यकाबाहिर कार्यरत तथा बसोबास गर्ने निजामती कर्मचारी र उनीहरूका परिवारलाई आफ्नै प्रदेशमै सहज, सुलभ र प्रभावकारी स्वास्थ्य सेवा प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

































