
अत्तरियाः सिंगापुरमा सम्पन्न एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको उपाधि नेपालले जितेको छ। सोमबार भएको रोमाञ्चक फाइनलमा हङकङलाई डीएलएस (डकवर्थ–लुइस–स्टर्न) पद्धतिअनुसार १९ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८८ रनको बलियो योगफल खडा गरेको थियो। हङकङका लागि अंशुमन राथले ४५ बलमा ८० रनको विस्फोटक इनिङ्स खेले भने शाहिद वासिफले २८ बलमा ५५ रन थपे। शिव माथुरले २६ रनको योगदान दिए। नेपालका बलरमध्ये शेर मल्ल सर्वाधिक सफल रहे। उनले ४ विकेट लिए भने करण केसीले २ तथा सन्दीप लामिछानेले १ विकेट हात पारे।
१८९ रनको लक्ष्य पछ्याएको नेपालले आक्रामक सुरुआत गर्यो। कुशल भुर्तेलले ४० बलमा ६५ रनको शानदार अर्धशतक प्रहार गर्दै टोलीलाई बलियो अवस्थामा पुर्याए। रोहित पौडेल ३५ रनमा तथा दीपेन्द्रसिंह ऐरी ९ रनमा अविजित थिए। नेपालले ११.३ ओभरमा २ विकेट गुमाएर ११४ रन बनाएको अवस्थामा वर्षाले खेल प्रभावित बनायो।


वर्षा नरोकिएपछि खेल पुनः सञ्चालन हुन सकेन र डीएलएस पद्धतिअनुसार नेपालको पार स्कोर ९५ निर्धारण गरियो। नेपाल त्यसबेला १९ रनले अगाडि रहेकाले विजेता घोषित भयो।
नेपाल र हङकङ दुवै टोली प्रतियोगिताभर अपराजित रहँदै फाइनल पुगेका थिए। यद्यपि वर्षाका कारण खेल पूरा हुन नसके पनि नेपालले उत्कृष्ट प्रदर्शन गर्दै महत्वपूर्ण उपाधि आफ्नो नाममा लेखाएको छ।
































