
भारत जाने टिकट देखाएका एक भारतीय यात्रुलाई दुबई पठाएको आरोपमा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का दुई कर्मचारी पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले करारका ग्राउण्ड ह्याण्डलिङ स्टाफ सुमित्रा चन्द र प्रवीण लामिछानेलाई आइतबार पक्राउ गरेको हो।

प्रहरीका अनुसार भारतको इन्डिगो एयरलाइन्सको उडानमार्फत भारत जान अध्यागमन जाँच पास गरेर वेटिङ रुममा पुगेका ती भारतीय यात्रुलाई पछि नेपाल एयरलाइन्समार्फत फ्लाई दुबईको बोर्डिङ पास दिई दुबई पठाइएको पाइएको छ। उक्त घटना जेठ ३ गते भएको हो।
एसएसपी सन्तोष खड्काका अनुसार चन्दले यात्रुलाई गलत रूपमा दुबई जाने बोर्डिङ पास उपलब्ध गराएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। पछि उक्त यात्रु दुबई पुगेको पुष्टि भएको अध्यागमन स्रोतले जनाएको छ।


नेपालबाट तेस्रो मुलुक जान भारतीय नागरिकले नो अब्जेक्शन सर्टिफिकेट (एनओसी) अनिवार्य रूपमा पेस गर्नुपर्ने प्रावधान छ। तर सो प्रक्रिया उल्लंघन भएको आशंकामा अनुसन्धान अघि बढाइएको हो।
अध्यागमन विभागले शंकास्पद गतिविधिबारे प्रहरीलाई पत्राचार गरेपछि दुवै कर्मचारी नियन्त्रणमा लिइएका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
































