दार्चुलाका प्रधानाध्यापक धामी मृत्यु प्रकरण : पक्राउ परेका आठै जना पुर्पक्षका लागि कारागार चलान

Image
Nisarga Hospital

दार्चुलाको व्याँस गाउँपालिका–४ सुन्सेरास्थित सम्पाल माध्यमिक विद्यालयका प्रधानाध्यापक बलदेवसिंह धामीको मृत्यु प्रकरणमा पक्राउ परेका आठै जनालाई जिल्ला अदालत दार्चुलाले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ।

CP Hospital Dhangadhi

जिल्ला अदालत दार्चुलाका न्यायाधीश भुवन गिरीको एकल इजलासले शुक्रबार उक्त आदेश जारी गरेको हो। अदालतका अनुसार हाल उपलब्ध प्रमाण र आधारका आधारमा सबै आरोपितलाई पुर्पक्षका लागि कारागार पठाउने निर्णय गरिएको हो। घटनासम्बन्धी थप प्रमाण, साक्षी र बहस प्रक्रिया पूरा भएपछि अन्तिम फैसला हुने जनाइएको छ।

कारागार चलान हुनेमा महाकाली नगरपालिका–१ का ३२ वर्षीय विक्रमसिंह कुँवर, महाकाली–२ का ५२ वर्षीय दलजित भट्ट, महाकाली–५ का ४२ वर्षीय खिमानन्द भट्ट, व्याँस गाउँपालिका–४ का ५७ वर्षीय परमानन्द भट्ट, ३१ वर्षीय पदमराज भट्ट, ४३ वर्षीय नरेन्द्रदत्त भट्ट, ५६ वर्षीय हरिदत्त भट्ट तथा बैतडीको पाटन नगरपालिका–४ का ४० वर्षीय पुष्करराज भट्ट रहेका छन्।

nawajiwan
Attariya Hospital

प्रधानाध्यापक धामी गत जेठ ४ गते विद्यालय परिसरमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए। मृत्यु हुनुअघि उनले सामाजिक सञ्जालमार्फत लामो सुसाइड नोट सार्वजनिक गरेका थिए, जसले घटनाप्रति व्यापक चासो र बहस सिर्जना गरेको थियो।

घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कानुनी कारबाहीको माग गर्दै पीडित परिवार तथा स्थानीय सर्वसाधारणले तीन दिनदेखि निरन्तर धर्ना जारी राखेका छन्। आत्महत्यासम्म पुग्ने परिस्थितिको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने उनीहरूको प्रमुख माग रहेको छ।