
लेबनानमा इजरायलले हवाइ आक्रमण तीव्र पारेसँगै मध्यपूर्वमा तनाव झनै बढेको छ। यसैबीच इरानले रणनीतिक रूपमा महत्वपूर्ण मानिने हर्मुज जलडमरू बन्द गर्ने घोषणा गरेको छ, जसले विश्व ऊर्जा आपूर्तिमा गम्भीर असर पार्ने चिन्ता बढाएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार लेबनानमा भइरहेको इजरायली आक्रमणको प्रतिक्रियास्वरूप इरानले यस्तो कदम चालेको हो। तर अमेरिकी सेनाले उक्त जलमार्गमा इरानको नियन्त्रण रहेको दाबी अस्वीकार गरेको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सम्झौता नभएमा उक्त ढुवानी मार्गमा अतिरिक्त महशुल लगाइने चेतावनी दिएका छन्।
तनाव न्यूनीकरणका लागि आगामी आइतबार स्विट्जरल्याण्डमा उच्चस्तरीय वार्ताको तयारी भइरहेको छ। अमेरिकी उपराष्ट्रपति जेडी भेन्स वार्तामा सहभागी हुन त्यसतर्फ प्रस्थान गरिसकेका छन् भने इरानी प्रतिनिधिमण्डल पनि पहिले नै स्विट्जरल्याण्ड पुगिसकेको छ। अमेरिकाले वार्तामा आणविक मुद्दा प्राथमिकतामा राख्ने जनाएको छ।


यद्यपि इरानले लेबनानको संकटलाई प्राथमिकतामा नराखे वार्ता अघि नबढ्ने चेतावनी दिएको छ। लेबनानमा औपचारिक युद्धविराम भए पनि इजरायल र हिजबुल्लाहबीच गोलीबारी जारी छ।
पछिल्ला दुई दिनमा इजरायली आक्रमणबाट दर्जनौँको मृत्यु भएको छ, जसलाई हालको द्वन्द्वको सबैभन्दा ठूलो रक्तपात मानिएको छ।































