
डडेल्धुरा: परशुराम नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ७७ करोड १६ लाख ५१ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। नगरसभाको १९औँ अधिवेशनमा नगर उपप्रमुख बिमला कुमारी बोहरा महताले आगामी आर्थिक वर्षको आय–व्यय विवरण प्रस्तुत गर्दै विकास, सेवा प्रवाह र जनजीविकासँग प्रत्यक्ष जोडिएका क्षेत्रलाई केन्द्रमा राखिएको बजेट सार्वजनिक गरेकी हुन्।

नगरपालिकाले यस वर्ष कृषि, शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रमअनुसार बजेट विनियोजन गरिएको जनाएको छ। नगरप्रमुख भरत वडायर जोशीले असार ३ गते प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्ने उद्देश्यका साथ बजेट तयार गरिएको नगरपालिकाको भनाइ छ।
शिक्षा क्षेत्रतर्फ बालविकास शिक्षक, विद्यालय कर्मचारी तथा स्वयंसेवक शिक्षकहरूको हाल कायम रहेको तलबमा १० प्रतिशत वृद्धि गर्ने व्यवस्था गरिएको छ। साथै, छोरी–बुहारी छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिइनुका साथै प्राविधिक उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि विशेष बजेट छुट्याइएको छ, जसबाट गुणस्तरीय शिक्षामा पहुँच विस्तार हुने अपेक्षा गरिएको छ।


कृषि क्षेत्रको आधुनिकीकरण र उत्पादनको उचित भण्डारण व्यवस्थापनका लागि कोल्ड स्टोर निर्माण गर्ने योजना बजेटमा समेटिएको छ। यसले कृषकलाई उत्पादन संरक्षण र बजार व्यवस्थापनमा सहयोग पुग्ने विश्वास नगरपालिकाले लिएको छ। खेलकुद क्षेत्रअन्तर्गत सादनी खेलमैदान निर्माणका लागि पनि आवश्यक बजेट विनियोजन गरिएको छ।
स्वास्थ्य सेवाको पहुँच र गुणस्तर सुधारलाई प्राथमिकता दिँदै गाउँघर क्लिनिक सञ्चालन, नियमित स्वास्थ्य शिविर, ‘गाउँ–गाउँमा डाक्टर’ कार्यक्रम तथा सादनी अस्पतालको सेवा विस्तार र गुणस्तर अभिवृद्धिका लागि आवश्यक बजेट व्यवस्था गरिएको उपप्रमुख महताले जानकारी दिइन्।
नगरपालिकाले विषयगत शाखासँगै सबै १२ वटा वडामा आवश्यकताको आधारमा सिलिङ निर्धारण गरी बजेट विनियोजन गरिएको जनाएको छ। स्थानीय आवश्यकता, समावेशी विकास र सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्यसहित ल्याइएको यो बजेटले कृषि उत्पादन वृद्धि, शिक्षा सुधार, स्वास्थ्य सेवा विस्तार तथा समग्र नगर विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
































