सुन्तलाजात फलफूल जोन सञ्चालक समन्वय समिति गठन, लक्ष्मण ताँडी संयोजक चयन

Image
Nisarga Hospital

डोटीः राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ डडेल्धुरा अन्तर्गत सुन्तलाजात फलफूल जोन, डोटी को आयोजनामा बडीकेदार गाउँपालिका–४ खड्यौलीस्थित सभाहलमा सुन्तलाजात फलफूल जोन क्षेत्रका कृषक उद्यमीहरूको भेलाबाट “सुन्तलाजात फलफूल जोन सञ्चालक समन्वय समिति” गठन गरिएको छ।

CP Hospital Dhangadhi

कार्यक्रम राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, डडेल्धुराका प्रमुख पिताम्बर बस्नेतको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरवबहादुर साउँद प्रमुख अतिथि तथा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीदत्त भट्ट विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

त्यसैगरी कृषि शाखा प्रमुख भावना बोगटी, कृषि अधिकृत शिला बस्याल, पत्रकार चक्र मल्ल, ना.सु. जगदीश तिवारी लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको स्वागत मन्तव्य कृषि अधिकृत शिला बस्यालले राख्नुभएको थियो भने सञ्चालन जगदीश तिवारीले गर्नुभएको थियो। प्राविधिक सहयोग चेतल भट्ट र बालकिशुन चौधरीले गर्नुभएको थियो।

nawajiwan

भेलामा जोरायल गाउँपालिका, बडीकेदार गाउँपालिका र बोगटान फुड्सिल गाउँपालिका का सुन्तलाजात फलफूल खेतीमा संलग्न ३५ जना कृषक उद्यमीसहित ४० जनाको सहभागिता रहेको थियो। सहभागी कृषकहरूको सर्वसम्मत निर्णयबाट लक्ष्मण ताँडीको संयोजकत्वमा ९ सदस्यीय सुन्तलाजात फलफूल जोन सञ्चालक समन्वय समिति गठन गरिएको हो।

Attariya Hospital

समितिको संयोजकमा लक्ष्मण ताँडी, सह–संयोजकमा धनबहादुर मगर, सचिवमा देवबहादुर साउद, कोषाध्यक्षमा रेखा देवी देवकोटा तथा सदस्यहरूमा जनक साउद, तारा सिंह मटेला, रेखा कुमारी शाही, मोहन बम ठकुरी र सविना विक चयन हुनुभएको छ।

कार्यक्रममा बोल्दै वक्ताहरूले डोटी जिल्लामा सुन्तलाजात फलफूल उत्पादनको सम्भावना उच्च रहेको उल्लेख गर्दै कृषक, स्थानीय तह, कृषि ज्ञान केन्द्र तथा सम्बन्धित निकायहरूबीच समन्वय गरी उत्पादन वृद्धि, व्यवसायीकरण र बजारीकरणमा समिति प्रभावकारी बन्ने विश्वास व्यक्त गरेका थिए।

नवनिर्मित समितिले सुन्तलाजात फलफूल जोन अन्तर्गतका कृषक उद्यमी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, स्थानीय तह तथा अन्य सरोकारवाला निकायहरूबीच समन्वय गर्दै सुन्तलाखेतीको विकास, संरक्षण तथा प्रवर्द्धनका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।