
इरान र इजरायलबीच जारी तनावका बीच कतारको राजधानी दोहामा कूटनीतिक गतिविधि तीव्र बनेको छ। कतारका प्रधानमन्त्री तथा विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जासिम अल थानीले अमेरिकी विशेष दूत स्टिभ विटकफ र जारेड कुश्नरसँग भेटवार्ता गरेका छन्। इरानी वार्ताकारहरू पनि दोहामै रहे पनि हाल अमेरिकी र इरानी पक्षबीच प्रत्यक्ष वार्ताको कुनै औपचारिक कार्यतालिका तय नभएको जनाइएको छ। इरानले युद्धविराम र तनाव न्यूनीकरणका लागि आफ्ना सर्तमा अडिग रहेको बताइएको छ।

यता, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्यालेस्टाइनी शरणार्थीका लागि कार्यरत राष्ट्रसंघीय नियोगमा देखिएको १० करोड अमेरिकी डलरको वित्तीय अभाव तत्काल पूर्ति गर्न सदस्य राष्ट्रहरूलाई आग्रह गरेका छन्। उनले आर्थिक संकटका कारण नियोगको सेवा नै प्रभावित हुने अवस्था आएको चेतावनी दिएका छन्।

गुटेरेसले महासभालाई सम्बोधन गर्दै सदस्य राष्ट्रहरूको तत्काल आर्थिक सहयोगबिना नियोग सञ्चालन गर्न कठिन हुने बताए। उनले इजरायलका आरोपपछि संस्थाले सुधारका विभिन्न कदम चालेको उल्लेख गर्दै नियोगलाई कमजोर पार्ने उद्देश्यले फैलाइने भ्रामक प्रचार र कूटनीतिक अवरोधको आलोचना गरे।

उक्त नियोगले गाजा, वेस्ट बैंक, लेबनान, जोर्डन र सिरियामा रहेका लाखौं प्यालेस्टिनीलाई खाद्यान्न, शिक्षा, स्वास्थ्य, सामाजिक सेवा र आश्रय उपलब्ध गराउँदै आएको छ।
































