
अमेरिका र इरानबीच तनाव कम गर्ने उद्देश्यले कतारको राजधानी दोहामा भएको अप्रत्यक्ष वार्ता बुधबार सम्पन्न भएको छ। दुई साताअघि भएको अन्तरिम समझदारीलाई कार्यान्वयन गर्ने विषयमा केन्द्रित वार्तामा रणनीतिक रूपमा अत्यन्त महत्त्वपूर्ण स्ट्रेट अफ हर्मुज जलमार्गको सुरक्षा तथा अमेरिकाले रोक्का गरेको ६ अर्ब अमेरिकी डलर बराबरको इरानी कोष फुकुवा गर्ने विषय मुख्य एजेन्डा बने। यद्यपि, दीर्घकालीन समाधानतर्फ कुनै ठोस उपलब्धि भने सार्वजनिक गरिएको छैन।

कतार र पाकिस्तानका मध्यस्थकर्ताको पहलमा भएको वार्तामा अमेरिकी पक्षको नेतृत्व मध्यपूर्वका विशेष दूत स्टिभ विट्कफले गरेका थिए भने इरानका तर्फबाट उप–परराष्ट्रमन्त्री काजेम गारीबाबादी नेतृत्वको प्राविधिक टोली सहभागी भएको थियो। इरानी परराष्ट्रमन्त्री अब्बास अराघची र सभामुख मोहम्मद बगेर घालिबाफ भने बैठकमा सहभागी भएनन्।
वार्तामा विश्वको करिब एक-चौथाइ तेल तथा तरल प्राकृतिक ग्यास ओसारपसार हुने हर्मुज जलमार्गलाई सुरक्षित र नियमित सञ्चालनमा ल्याउने विषयमा गहन छलफल भएको बताइएको छ। हालै दुवै देशबीच भएका सैन्य तनावपछि यो जलमार्गको सुरक्षा अन्तर्राष्ट्रिय चासोको विषय बनेको छ। साथै, इरानले आगामी अगस्टदेखि उक्त जलमार्गमा कर उठाउने अडान दोहोर्याएको छ।


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको संवाद सकारात्मक दिशामा अघि बढिरहेको दाबी गरे पनि वार्तामा आणविक कार्यक्रमबारे औपचारिक छलफल नभएको स्रोतहरूले बताएका छन्। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पनि आणविक मुद्दामा छुट्टै चरणमा वार्ता हुने स्पष्ट पारेका छन्।
कतारको परराष्ट्र मन्त्रालयले प्रारम्भिक समझदारीका बुँदामा सकारात्मक प्रगति भएको जनाएको छ। अब इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको जुलाई ९ मा हुने अन्त्येष्टि प्रक्रिया सम्पन्न भएपछि वार्ताको अर्को चरण बस्ने तयारी गरिएको छ।































