
रोजगारीका लागि दक्षिण कोरिया जाने तयारीमा रहेका नेपाली कामदारले अब भिसा शुल्क बढी तिर्नुपर्ने भएको छ। वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाले सूचना जारी गर्दै कोरियाली भिसा शुल्क प्रतिव्यक्ति ६०० रुपैयाँले बढाइएको जनाएको छ।

नयाँ व्यवस्थाअनुसार अब दक्षिण कोरिया जाने कामदारले भिसा शुल्कबापत ११ हजार ३०० रुपैयाँ बुझाउनुपर्नेछ। यसअघि यही शुल्क १० हजार ७०० रुपैयाँ कायम थियो। शाखाका अनुसार संशोधित शुल्क तत्काल लागू भएको छ।

ईपीएस प्रणालीमार्फत दक्षिण कोरिया जान ‘सर्टिफिकेट फर कन्फर्मेसन अफ भिसा इस्युएन्स’ (सीसीभीआई) प्राप्त गरिसकेका कामदारले भिसा प्रक्रियाका लागि ईपीएस कार्यालयमा स्वयं उपस्थित भई आवेदन फाराम बुझाउँदा नयाँ शुल्क तिर्नुपर्नेछ।

ईपीएस कोरिया शाखाले भिसा प्रक्रियामा सहभागी हुने सबै कामदारलाई संशोधित शुल्कअनुसार आवश्यक रकम तयारी अवस्थामा राख्न आग्रह गरेको छ। शाखाले तोकिएको प्रक्रिया पूरा गरी निर्धारित शुल्क बुझाएपछि मात्र भिसा प्रक्रिया अघि बढ्ने जनाएको छ।
































