
काठमाडौं : पाकिस्तानको एक मालवाहक (कार्गो) विमान मंगलबार राति शारजाहबाट कराँचीतर्फ उडानका क्रममा सम्पर्कविहीन भएको छ। विमानमा चालक दलका पाँच सदस्य सवार रहेको र अरब सागरमा दुर्घटनाग्रस्त भएको आशंकापछि व्यापक खोज तथा उद्धार अभियान सञ्चालन गरिएको छ।

पाकिस्तान विमानस्थल प्राधिकरणका अनुसार स्थानीय समयअनुसार राति ९:१८ बजे विमानले नेभिगेसन प्रणालीमा समस्या आएको जानकारी गराएको थियो। त्यसपछि हवाई ट्राफिक नियन्त्रण (एटीसी) ले वैकल्पिक मार्गनिर्देशन गर्ने प्रयास गरे पनि करिब तीन मिनेटपछि विमानसँगको सम्पूर्ण सम्पर्क टुटेको थियो।
सम्पर्क टुट्दाका बेला विमान कराँचीबाट करिब १५५ समुद्री माइल (२८७ किलोमिटर) पश्चिम, बलुचिस्तानको ओरमारा नजिक अरब सागरमाथि उडिरहेको बताइएको छ।


फ्लाइट ट्र्याकिङ सेवा ‘फ्लाइटराडार२४’ का प्रारम्भिक तथ्यांकले दुर्घटनाअघि विमानको उचाइमा असामान्य उतारचढाव देखिएको जनाएको छ। अन्तिम पटक प्राप्त विवरणअनुसार विमान केवल १,१०० फिट उचाइमा पुगेको थियो र प्रतिमिनेट २२,४०० फिटको दरले तीव्र रूपमा तल झरिरहेको देखिएको थियो।
सम्पर्कविहीन भएको विमान पाकिस्तानमा दर्ता गरिएको २७ वर्ष पुरानो बोइङ ७३७–४०० मालवाहक विमान हो, जसलाई के–२ एयरवेजले सञ्चालन गर्दै आएको थियो। सन् २०१२ मा यात्रुवाहक विमानबाट मालवाहक विमानमा रूपान्तरण गरिएको उक्त विमान २०२४ देखि के–२ एयरवेजको सेवामा रहेको थियो।
हाल पाकिस्तान विमानस्थल प्राधिकरणको समन्वयमा समुद्रमा खोज तथा उद्धार अभियान जारी छ। घटनाबारे के–२ एयरवेज र बोइङ कम्पनीले भने अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्।































