
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको शान्ति सम्बन्धी समझदारीपत्र (एमओयू) अब प्रभावहीन बनेको विश्वास व्यक्त गर्दै इरानसँग थप वार्ता गर्नु ‘समयको बर्बादी’ भएको बताएका छन्। टर्कीमा आयोजित नाटो शिखर सम्मेलनका क्रममा उनले इरानले स्ट्रेट अफ हर्मुजमा व्यावसायिक जहाजलाई निसाना बनाएर युद्धविराम उल्लंघन गरेको आरोप लगाए।

ट्रम्पले इरानलाई ‘धोकेबाज खेलाडी’को संज्ञा दिँदै अमेरिका अब कूटनीतिक वार्ताभन्दा आफ्ना प्राथमिकतामा केन्द्रित हुने बताए। उनले इरानको नेतृत्वमाथि कडा टिप्पणी गर्दै क्षेत्रीय सुरक्षामा खतरा बढाएको आरोपसमेत लगाए।

यसअघि इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिकाले इरानमाथि गरेको आक्रमणको जवाफस्वरूप बहराइन र कुवेतस्थित अमेरिकी सैन्य लक्ष्यमा आक्रमण गरेको दाबी गरेको थियो। उता इरानका विदेशमन्त्री अब्बास अराघचीले भने अमेरिकाले सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै अमेरिकी हमला, नयाँ प्रतिबन्ध र क्षेत्रीय तनावका कारण समझदारीको आधार नै समाप्त भएको बताएका छन्।

अराघचीले इरान आफ्नो राष्ट्रिय सुरक्षा र सार्वभौमिकताको रक्षाका लागि आवश्यक सबै कदम चाल्न तयार रहेको चेतावनी दिएका छन्। साथै, अमेरिकी सैनिक अड्डा रहेका खाडी मुलुकबाट इरानमाथि आक्रमण भए त्यसको स्रोतलाई नै निशाना बनाइने चेतावनीसमेत दिएका छन्। यससँगै वासिङ्टन–तेहरान सम्बन्ध थप तनावपूर्ण बनेको विश्लेषण गरिएको छ।
































