
रमेश बहादुर सिंह/ बझाङ: स्वास्थ्य कार्यालय बझाङको आयोजनामा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री तथा वितरण) ऐन, २०४९ तथा नियमावली, २०५१ सम्बन्धी विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूसँग एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति बझाङका प्रमुख नरबहादुर बोहराले शिशुको स्वस्थ वृद्धि–विकासका लागि आमाको दूध सबैभन्दा सुरक्षित, गुणस्तरीय र प्राकृतिक आहार भएको उल्लेख गर्दै आमाको दूधको संरक्षण, प्रवर्द्धन तथा कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा सबै निकायले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने बताए।
कार्यक्रममा स्वास्थ्य कार्यालय बझाङका कार्यालय प्रमुख लालबहादुर धामीले सहजीकरण गर्दै आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री तथा वितरण) ऐन, २०४९ तथा नियमावली, २०५१ का प्रमुख व्यवस्था, आमाको दूधको महत्व, जन्मदेखि पहिलो छ महिनासम्म शिशुलाई केवल आमाको दूध खुवाउनुपर्ने आवश्यकता तथा स्तनपान प्रवर्द्धनमा सरोकारवाला निकायको भूमिकाबारे विस्तृत जानकारी दिएका थिए।


अभिमुखीकरणमा स्थानीय तह, स्वास्थ्य संस्था, सरकारी कार्यालय तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको अनियन्त्रित प्रचार–प्रसार तथा बिक्री–वितरण रोक्न ऐन–नियमको प्रभावकारी कार्यान्वयन आवश्यक रहेकोमा जोड दिएका थिए। साथै, आमाको दूधको संरक्षण, प्रवर्द्धन तथा शिशु पोषण सुधारका लागि सबै पक्षबीच समन्वय, सहकार्य र जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरेका थिए।
स्वास्थ्य कार्यालय बझाङका अनुसार यस्ता अभिमुखीकरण कार्यक्रमले स्तनपान प्रवर्द्धन, शिशु पोषण सुधार तथा मातृ–शिशु स्वास्थ्य सुदृढीकरणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।।
































