कञ्चनपुरका विद्यालयमा छात्रा बेहोस हुने घटना बढ्यो, ‘भूतप्रेत होइन मनोसामाजिक समस्या’ भन्दै चिकित्सकको आग्रह

Image
Nisarga Hospital

कञ्चनपुरको पुनर्वास र बेलौरी नगरपालिकाका विद्यालयमा विद्यार्थी, विशेषगरी छात्राहरू, एक्कासि बेहोस हुने, चिच्याउने, कराउने तथा असामान्य व्यवहार देखाउने घटना बढेपछि पठनपाठन प्रभावित भएको छ। पुनर्वास–८ स्थित बागेश्वरी माध्यमिक विद्यालयमा मात्र पछिल्ला ३–४ दिनमा कक्षा ५ देखि ९ सम्म अध्ययनरत ३२ जना छात्रामा यस्ता लक्षण देखिएपछि विद्यालयले कक्षा ५ देखि ८ सम्मका कक्षा दुई दिनका लागि स्थगित गरेको छ।

CP Hospital Dhangadhi

पुनर्वास नगरपालिकाका अनुसार चिकित्सकसँगको परामर्शपछि यो समस्या ‘मास कन्भर्सन डिसअर्डर’ (मास हिस्टेरिया) अर्थात् मनोसामाजिक अवस्थाका कारण देखिएको निष्कर्ष निकालिएको छ। कान्ति बाल अस्पतालका विशेषज्ञसँग समन्वय गरी प्रभावित विद्यार्थीलाई आवश्यक परामर्श र औषधि उपलब्ध गराउने व्यवस्था गरिएको छ।

Attariya Hospital

यसअघि पनि पुनर्वास–९ को राष्ट्रिय माध्यमिक विद्यालय, बिचफाँटामा यस्तै घटना देखिएको थियो। बेलौरी नगरपालिकाले समेत विद्यालयहरूमा सचेतना कार्यक्रम सञ्चालन गरेको छ। परामर्शदाता कृष्णी चौधरीका अनुसार यो कुनै भूतप्रेत, बोक्सी वा अदृश्य शक्तिको प्रभाव नभई मानसिक तनाव, डर, भावनात्मक दबाब र मनोसामाजिक कारणले देखिने अवस्था हो।

nawajiwan

उनका अनुसार यस्तो समस्या प्रायः एक जनाबाट सुरु भएर अरूमा पनि देखिन सक्छ। प्रभावित विद्यार्थीलाई भीडबाट अलग राखी शान्त वातावरणमा निगरानी गर्नुपर्ने, अन्य विद्यार्थीमा डर फैलिन नदिन पठनपाठनलाई निरन्तरता दिनुपर्ने र आवश्यक परामर्श सेवा उपलब्ध गराउनुपर्ने उनको सुझाव छ। उनले यो सरुवा रोग नभएकाले अफवाह र अन्धविश्वासमा नलाग्न अभिभावक तथा समुदायलाई आग्रह गरेकी छन्।