
पत्रकारको परिचयपत्रको दुरुपयोग गर्दै लागुऔषध कारोबार भइरहेको तथ्य प्रहरीले उजागर गरेको छ। लागुऔषध नियन्त्रण ब्युरोको शाखा कार्यालय बर्दिबासबाट खटिएको टोलीले सिन्धुलीको दुधौली नगरपालिका–९ बाट खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सिरहाका २६ वर्षीय उमेश कुमार यादव, ३० वर्षीय रमेश कुमार राम र २५ वर्षीय गुल्सन प्रसाद साह रहेका छन्। उनीहरू सिरहाको मिर्चैयाबाट काठमाडौंतर्फ कारमा लागुऔषध ल्याइरहेको अवस्थामा पक्राउ परेका हुन्।

प्रहरीका अनुसार बा.१६ च ७८४६ नम्बरको कारको गियर बक्समा लुकाएर ल्याइएको ४४ ग्राम ३४० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ। कार चालक उमेश यादवको साथबाट ‘जनजागरण खबर’को पत्रकार परिचयपत्र पनि फेला परेको छ। प्रहरीले उक्त परिचयपत्रको प्रयोगबारे समेत अनुसन्धान अघि बढाएको जनाएको छ।

लागुऔषध नियन्त्रण ब्युरोका अनुसार पक्राउ परेका तीनै जनामाथि लागुऔषध कारोबारसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ। साथै, पत्रकार परिचयपत्रको दुरुपयोग गरी आपराधिक गतिविधि गर्ने प्रवृत्तिमाथि पनि प्रहरीले विशेष अनुसन्धान गरिरहेको जनाएको छ।






























