
धनगढी उपमहानगरपालिकाले वार्षिक क्यालेन्डरअनुसार आगामी प्रदेशस्तरीय सीप तथा रोजगार मेला सञ्चालनको तयारी तीव्र पारेको छ। उपमहानगरपालिकाले मेला आगामी माघ ५ गतेदेखि सुरु गर्ने लक्ष्यसहित आवश्यक पूर्वतयारी अघि बढाएको जनाएको छ।

उपमहानगरपालिकाका अनुसार २०८१ सालको मेलामा १ हजार ४० जना शिक्षार्थी सहभागी भएका थिए भने २०८२ सालमा ६ सयभन्दा बढी युवायुवतीले सहभागिता जनाएका थिए। विगतका अनुभवका आधारमा यसपटक मेलालाई थप व्यवस्थित, प्रभावकारी र युवामैत्री बनाउने योजना रहेको छ।
मेलाको तयारीका क्रममा विभिन्न संघसंस्था, रोजगारदाता, तालिम प्रदायक तथा सरोकारवाला निकायसँग छलफल र समन्वय भइरहेको छ। २०८२ सालमा आयोजित मेलामा सुदूरपश्चिम प्रदेशका ८४ स्थानीय तह सहभागी भएका थिए। सात प्रमुख क्षेत्रअन्तर्गत २२ विधाका सीपमूलक तालिम सञ्चालन गरिएको थियो।


सहभागीलाई ३० दिनको सीप विकास तालिमसँगै १० दिन रोजगारीसँग जोडिने व्यावहारिक अभ्यास र उद्यमशीलता तालिम प्रदान गरिएको थियो। मेलालाई तालिममा मात्र सीमित नराखी स्थानीय उत्पादनको प्रवर्द्धन तथा बजारीकरणलाई समेत प्राथमिकता दिइएको थियो।
निःशुल्क स्टलमार्फत स्थानीय तह तथा संघसंस्थालाई आफ्ना उत्पादन र गतिविधि प्रदर्शन गर्ने अवसर दिइएको उपमहानगरपालिकाले जनाएको छ। आगामी मेलामार्फत श्रम बजारको मागअनुसार सीप प्रदान गरी युवालाई रोजगारी तथा स्वरोजगारसँग जोड्ने लक्ष्य राखिएको छ। साथै, स्थानीय उत्पादन र उद्यमशीलताको प्रवर्द्धनलाई समेत प्राथमिकता दिइनेछ।































