
प्रतिनिधिसभामा सरकारको कार्यसम्पादन र बजारमा देखिएको एलपी ग्यास अभावबारे प्रश्न उठिरहेका बेला प्रधानमन्त्री बालेन शाहले सरकारी उद्योग तथा संस्थानमा सुधारका प्रयास भइरहेको दाबी गरेका छन्। सांसदहरूको प्रश्नपछि शनिबार बिहान फेसबुकमार्फत लामो धारणा सार्वजनिक गर्दै उनले वर्षौंदेखि बन्द, घाटामा रहेका राष्ट्रिय उद्योगलाई पुनः जीवन्त र प्रतिस्पर्धी बनाउने कामलाई सरकारले प्राथमिकता दिएको बताएका हुन्।

प्रधानमन्त्री शाहले नियत सफा राखेर जिम्मेवारीपूर्वक काम गरे चुनौतीपूर्ण अवस्थामा पनि सुधारका ढोका खोल्न सकिने दाबी गरेका छन्। उनले केही सरकारी संस्थानमा सुधारका आशालाग्दा परिणाम देखिन थालेको उल्लेख गर्दै विभिन्न तथ्यांकसमेत सार्वजनिक गरेका छन्।
उनका अनुसार लामो समय घाटामा रहेको नेपाल औषधि लिमिटेडले पछिल्लो चार महिनामा २ करोड ३८ लाख रुपैयाँको औषधि बिक्री गरेको छ। गत आर्थिक वर्षमा ३ करोड रुपैयाँ नाफा कमाएको दाबी गर्दै चालु आर्थिक वर्षमा ३० करोड रुपैयाँको औषधि बिक्री गर्ने लक्ष्य राखिएको उनले बताएका छन्। तीन वर्षभित्र ९८ प्रकारका निःशुल्क औषधि उत्पादन गर्ने सरकारी लक्ष्यअनुसार हाल ११ प्रकारका औषधि उत्पादन भइरहेको र थप उत्पादनको तयारी भइरहेको उनको भनाइ छ।

त्यस्तै, लामो समय बन्द हेटौँडा कपडा उद्योगको तान मर्मत गरी नेपाली सेनाको जिम्मेवारीमा परीक्षण उत्पादन सुरु भएको प्रधानमन्त्रीले बताएका छन्। परीक्षण सफल भए उद्योग नेपाल सरकारले नै सञ्चालन गर्ने योजना रहेको उनले उल्लेख गरेका छन्।

नेपाल वायुसेवा निगमको आम्दानीसमेत बढेको उनको दाबी छ। गत आर्थिक वर्षको चैतदेखि असारसम्म निगमले ६ अर्ब २७ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको र अघिल्लो वर्षको तुलनामा १ अर्ब १० करोड रुपैयाँभन्दा बढी वृद्धि भएको उनले बताएका छन्। सो अवधिमा सीट उपयोगिता ८६ प्रतिशत पुगेको तथा जहाज खरिदको ऋणबापत १ अर्ब ६ करोड रुपैयाँभन्दा बढी किस्ता भुक्तानी गरिएको उनको भनाइ छ।
दुग्ध विकास संस्थान (डीडीसी)मा किसानको बक्यौता भुक्तानी चक्र आठ महिनाबाट घटाएर दुई–तीन महिनामा झारिएको र दायित्व ७२ करोडबाट ३५ करोड रुपैयाँमा ल्याइएको प्रधानमन्त्रीले दाबी गरेका छन्। दूध बिक्री ३५ प्रतिशतले बढेको र दैनिक राजस्व ६० लाखबाट ९० लाख रुपैयाँ पुगेको उनले बताएका छन्। घ्यू, बटर र छुर्पी विदेश निर्यातको तयारीसमेत भइरहेको उनको भनाइ छ।
त्यस्तै, सिंहदरबार वैद्यखानाको कारोबार अघिल्लो आर्थिक वर्षको तुलनामा चार गुणा बढेर करिब १३ करोड रुपैयाँ पुगेको तथा हाल १०५ प्रकारका आयुर्वेदिक औषधि उत्पादन भइरहेको उनले बताएका छन्।
प्रधानमन्त्रीले सरकारी संस्थानमा सुधारका विभिन्न तथ्यांक प्रस्तुत गरे पनि पछिल्ला दिनमा सर्वसाधारणले भोगिरहेको एलपी ग्यास अभाव र आपूर्ति समस्याबारे भने स्पष्ट जवाफ दिएका छैनन्। शुक्रबार मध्यराति पनि उनले ‘ढिलो होला तर गलत हुँदैन, नआत्तिनुहोस्’ भन्दै छोटो स्टाटस लेखेका थिए।































