
कपिलवस्तु । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह तीन दिनदेखि सम्पर्कविहीन रहेको अवस्थामा गोरुसिंगे जंगलमा मृत फेला परेका छन्। सिंह शुक्रबारदेखि सम्पर्कविहीन भएका थिए।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका एसएसपी शारदा चौधरीले जंगलभित्रै सिंहको शव फेला परेको पुष्टि गरेकी छन्। उनका अनुसार घटनाबारे थप अनुसन्धान तथा आवश्यक विवरण संकलन भइरहेको छ।
सिंहले प्रयोग गर्ने लु.प्र. ०१–०१३ प ७९७० नम्बरको मोटरसाइकल गोरुसिंगे जंगलभित्रै फेला परेको थियो। मोटरसाइकल भेटिए पनि त्यसबेला सिंहको अवस्था भने पत्ता लाग्न सकेको थिएन।
सम्पर्कविहीन भएपछि प्रहरीले उनको खोजीलाई तीव्र बनाएको थियो। खोजीका क्रममा मोटरसाइकल भेटिएको क्षेत्रलाई केन्द्रित गर्दै तालिमप्राप्त कुकुर, ड्रोन तथा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी मनोहरप्रसाद भट्टका अनुसार निरन्तरको खोजीपछि जंगलभित्र सिंहको शव फेला परेको हो। घटनाको कारण र परिस्थितिबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।































