
हाल देशभर मनसुनी वायुको प्रत्यक्ष प्रभाव कायम रहेकाले मौसम बदलीसँगै वर्षाको क्रम जारी छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित छ।

सोमबार कोशी र लुम्बिनी प्रदेशका सबै भू–भागसहित बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बादल लाग्नेछ। मधेससहित बागमती, गण्डकी र सुदूरपश्चिमका तराई क्षेत्रमा भने आंशिक बदली रहने अनुमान गरिएको छ।
हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। सोमबार देशका अधिकांश भू–भागमा बादल लाग्ने र हिमाली क्षेत्रमा केही स्थानमा मध्यम वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।


पहाडी तथा तराई भू–भागका धेरै स्थानमा पनि मध्यम वर्षा हुनसक्ने अनुमान छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्र, कर्णालीको पहाडी भू–भाग तथा सुदूरपश्चिमका हिमाली र पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो तथा सडक यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्। विशेषगरी नदी तथा खोलानालाको आसपास र पहिरोको जोखिम भएका क्षेत्रमा सावधानी अपनाउन आवश्यक देखिएको छ।































