
प्युठानः क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सल्लाहकार समिति सदस्य दिपकबहादुर केसी ‘मानसिंह’को निधन भएको छ। पार्टीका अनुसार केसीको साउन २४ गते साँझ ८ बजे प्युठान नगरपालिका–१० स्थित आफ्नै निवास मरन्ठानामा निधन भएको हो।

वि.सं. १९९८ साउन १८ गते प्युठानमा जन्मिएका केसीले २०२३ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए। त्यसपछि २०२४ देखि २०३६ सालसम्म भूमिगत रहेर पार्टी संगठन निर्माणमा सक्रिय भूमिका निर्वाह गरेका थिए।

लामो समय अस्थायी शिक्षकका रूपमा शिक्षण पेसामा समेत संलग्न रहेका केसी पार्टीको जिल्ला समिति सदस्य, जिल्ला सचिव हुँदै केन्द्रीय समिति सदस्यसम्मको जिम्मेवारीमा पुगेका थिए। महान् जनयुद्धका क्रममा २०५३ देखि २०६३ सालसम्म परिवारसहित भूमिगत भएर पार्टीका विभिन्न जिम्मेवारी सम्हालेको पार्टीले जनाएको छ।

केसी २०६४ सालमा प्युठान क्षेत्र नं. १ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए। जीवनको अन्तिम समयसम्म मार्क्सवाद–लेनिनवाद–माओवादप्रति प्रतिबद्ध रहँदै नयाँ जनवाद, वैज्ञानिक समाजवाद र साम्यवादको यात्रामा सक्रिय रहेको पार्टीले जनाएको छ। पार्टीले उनको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ।






























