
रोल्पाको थबाङ गाउँपालिका–५ बोटलबारा गाउँमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। बुधबार राति करिब ८ः४० बजे पहिरो खस्दा स्थानीय ६० वर्षीय कमलबहादुर पुनमगर र १८ वर्षीया शान्ती पुनमगरको मृत्यु भएको प्रहरीले जनाएको छ।

पहिरोमा परी २२ वर्षीय हिमाल पुनमगर र २५ वर्षीय सञ्जय घर्तीमगर घाइते भएका छन्। दुवैको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ। घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाउने तयारी गरिएको छ।

पहिरोले बोटलबारा क्षेत्रमा थप छवटा घर तथा गोठसमेत पुरेको प्रहरीले जनाएको छ। घटनापछि सुरक्षाकर्मी तथा स्थानीयवासीको टोलीले उद्धार र खोजी कार्यलाई तीव्रता दिएको छ।

पहिरोमा अन्य व्यक्ति पनि पुरिएको हुन सक्ने आशंका गरिएको छ। सम्भावित मानवीय क्षति कम गर्न उद्धार टोलीले जोखिमका बीच खोजी जारी राखेको प्रहरीले जनाएको छ। घटनापछि स्थानीयमा त्रास फैलिएको छ भने प्रभावित परिवारलाई सुरक्षित स्थानमा सार्ने तयारीसमेत भइरहेको छ।































