
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफूविरुद्ध विगतमा विभिन्न निकायबाट कारबाही र मुद्दा चलाउने प्रयास भए पनि आफू विचलित नभएको बताएका छन्। बिहीबार स्वदेश फर्किएपछि कांग्रेस संस्थापनइतर पक्षको चुनदेवीस्थित सम्पर्क कार्यालयमा नेता–कार्यकर्ता तथा शुभेच्छुकलाई सम्बोधन गर्दै देउवाले आफूविरुद्ध भएका प्रयासको प्रसंग निकाल्दै कडा अभिव्यक्ति दिएका हुन्।

देउवाले आफू र पत्नी डा. आरजु राणा देउवाविरुद्ध अन्तर्राष्ट्रिय तथा नेपालका अदालतमा समेत मुद्दा हाल्ने प्रयास भएको दाबी गरे। उनले अन्तर्राष्ट्रिय अदालतले आफूहरूलाई पक्राउ गर्नुपर्ने अवस्था नरहेको भनेको र नेपालमा समेत अदालतले आफू र पत्नीलाई पक्राउ नगर्न आदेश दिएको बताए।
उनले सम्पत्ति शुद्धीकरणसम्बन्धी निकायबाट समेत आफूविरुद्ध पटक–पटक छानबिन तथा मुद्दा चलाउने प्रयास भएको दाबी गरे। पटक–पटक छानबिन हुँदा समेत आफूविरुद्ध केही नदेखिएको देउवाको भनाइ थियो। यस्ता प्रयासमा आफूले धेरै प्रतिक्रिया नदिएको उनले बताए।


देउवाले मुलुकमा जनता र अदालत रहेको भन्दै सत्य–तथ्यबारे सबै जानकार रहेको बताए। आफूविरुद्ध भएका गतिविधिप्रति आक्रोश व्यक्त गर्दै उनले राजनीतिक रूपमा आफूलाई कमजोर पार्ने प्रयास सफल नहुने संकेत गरे।
त्यसक्रममा देउवाले तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रसंगसमेत जोड्दै आफूलाई दबाउन विगतमा भएका प्रयासको स्मरण गरे। ‘राजा ज्ञानेन्द्रले त सकेन, अरूले सक्छ यहाँ,’ भन्दै उनले आफूविरुद्ध हुने कुनै पनि दबाब वा चुनौती सामना गर्न तयार रहेको सन्देश दिएका छन्।































