
गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि गरिएको व्यवहारप्रति असन्तुष्टि जनाएका छन्। साउन २७ गते समितिको बैठकमा आईजीपी कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद खगेन्द्र सुनारबीच भएको सवाल–जवाफप्रति मन्त्रालयको ध्यानाकर्षण भएको उनले बताए।

शुक्रबार संसद्को कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै गुरुङले उक्त घटनाप्रति असन्तुष्टि व्यक्त गर्दै ‘दिस इज नट राइट, दिस इज नट गुड’ भने। उनले कुनै व्यक्तिविरुद्ध उजुरी पर्दैमा आफूहरू न्यायाधीश बन्न नहुने र आरोपकै आधारमा चरित्रहत्या गर्न नमिल्ने बताए।

गुरुङले समितिमा प्रहरी प्रमुखहरूलाई प्रस्तुत गरिएको शैलीप्रति प्रश्न उठाउँदै भने, ‘उजुरीको भरमा हामी न्यायाधीश बन्न पाइँदैन।’ उनले सार्वजनिक लेखा समितिको तुलनामा कानुन, न्याय तथा मानव अधिकार समिति आफूलाई भद्र लागेको टिप्पणीसमेत गरे।

आईजीपी कार्कीसहित प्रहरी प्रमुखहरूले दिनरात काम गरिरहेको दाबी गर्दै गुरुङले उनीहरूको काम आफू प्रत्यक्षदर्शी भएको बताए। उनले आरोप र उजुरीमाथि निष्पक्ष छानबिन हुनुपर्ने तर त्यसकै आधारमा व्यक्तिको प्रतिष्ठामाथि प्रश्न उठाउन नहुने धारणा राखे।































