
अत्तरिया: कैलालीको अत्तरियामा व्यवसायीहरूलाई सरकारको वर्तमान कर नीति, करसम्बन्धी व्यवस्था तथा व्यवसाय सञ्चालनका क्रममा आइपर्ने करसम्बन्धी समस्याबारे प्रशिक्षण प्रदान गरिएको छ।

अत्तरिया उद्योग वाणिज्य संघको आयोजनामा शनिबार आन्तरिक राजस्व कार्यालय कैलालीको सहकार्यमा प्रशिक्षण तथा परामर्श कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा संघमा आबद्ध विभिन्न क्षेत्रका व्यवसायीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

प्रशिक्षणका क्रममा व्यवसायीहरूलाई सरकारले लागू गरेका नयाँ कर नीति, कर तिर्ने प्रक्रिया, उपलब्ध छुट तथा करसम्बन्धी कानुनी व्यवस्थाबारे जानकारी गराइएको थियो। साथै व्यवसाय सञ्चालनका क्रममा करसम्बन्धी कागजात तथा प्रक्रियामा देखिने समस्याको समाधानबारे समेत परामर्श दिइएको थियो।

संघका अध्यक्ष कमल कडायतले कर नीतिबारे पर्याप्त जानकारी नहुँदा व्यवसायीहरूले विभिन्न समस्या तथा अन्योल भोग्नुपरिरहेको बताए। व्यवसायीलाई करसम्बन्धी विषयमा स्पष्ट र व्यवहारिक जानकारी दिने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको उनको भनाइ छ।
उनले यस्ता कार्यक्रमले व्यवसायीलाई करसम्बन्धी दायित्व पूरा गर्न सहज बनाउनुका साथै राज्यलाई कर तिर्ने संस्कृतिको विकासमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे।































