
हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा विभिन्न प्रदेशमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थान आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरतर्फ नेपालनजिक रहेको छ।

हाल देशभर साधारणतया बदली रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ भने कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा समेत हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
सोमबार देशभर साधारणतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा पनि वर्षा हुने अनुमान गरिएको छ।


यस्तै, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका धेरै स्थानमा वर्षा हुने सम्भावना छ। मधेससहित कोशी र बागमती प्रदेशका तराई भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाको पूर्वानुमान छ।
महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। लुम्बिनी प्रदेशको तराई क्षेत्रमा एक–दुई स्थानमा धेरै भारी वर्षा हुनसक्ने भएकाले बाढी, पहिरो तथा डुबानको जोखिम रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउनुपर्ने देखिएको छ।































