
कञ्चनपुरस्थित महाकाली नदीमा पानीको बहाव खतराको तह पार गरेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब उपरीक्षक जीवन गुरुङका अनुसार सोमबार बिहानदेखि महाकालीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि सवारी सञ्चालनमा रोक लगाइएको हो।

उनका अनुसार बिहान ९ बजे गरिएको मापनमा महाकाली नदीको पानीको बहाव एक लाख १४ हजार क्युसेक पुगेको थियो। भारतीय पक्षले शारदा ब्यारेजमा पानीको बहाव एक लाख क्युसेक पुगेपछि चारपाङ्ग्रे सवारीसाधन आवतजावतमा रोक लगाउँदै आएको छ।

यसैबीच, जल तथा मौसम पूर्वानुमान महाशाखाले बैतडी, कञ्चनपुर, कैलाली, बर्दियालगायत क्षेत्रमा पछिल्लो समय अत्यधिक वर्षा भइरहेको जनाएको छ। महाशाखाले महाकाली नदीसँगै कञ्चनपुरका साना नदी तथा खोलामा समेत पानीको बहाव उल्लेख्य बढ्न सक्ने भन्दै नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।
































