
काठमाडौंः सर्वोच्च अदालतको आदेशपछि पत्रकार किशोर श्रेष्ठ रिहा भएका छन्। वैयक्तिक गोपनीयताको हक हनन गरेको आरोपमा पक्राउ परेका श्रेष्ठलाई सर्वोच्चले हाजिरी जमानीमा छाडेर वा तारिखमा राखी अनुसन्धान गर्न आदेश दिएपछि रिहा गरिएको हो।

श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले उनलाई रिहा गर्न परमादेश जारी गरेको थियो।

जनआस्था अनलाइनमा प्रकाशित समाचार र तस्वीरका कारण वैयक्तिक गोपनीयताको हक हनन भएको आरोपमा प्रहरीले श्रेष्ठलाई साउन २७ गते पक्राउ गरेको थियो। त्यसयता उनी हिरासतमा रहेका थिए।

सर्वोच्चको आदेशमा समाचारमा प्रकाशित तस्वीर जाहेरवालाले नै सामाजिक सञ्जालमा सार्वजनिक गरेको देखिएको उल्लेख छ। उक्त तथ्यलाई विपक्षीले खण्डन गर्न नसकेको भन्दै अदालतले श्रेष्ठलाई थुनामा राखिरहन आवश्यक नदेखिएको ठहर गरेको थियो। आदेशपछि श्रेष्ठ रिहा भएका हुन्।































