
देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज पनि अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर र पूर्वतर्फ सरदर स्थान आसपास रहेको छ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थान तथा कोशी, बागमती र गण्डकीका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली भूभागका केही स्थान तथा पहाडी भूभागका धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। तराईका केही स्थानमा पनि वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।


कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। कोशीको तराई र मधेसका केही स्थानमा हावाहुरी चल्नसक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
आज राति पनि देशभर बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी र बागमतीका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।































