
मंगलबार भगवान गणेशको पूजा, आराधना तथा व्रत बस्दा शुभ फल प्राप्त हुने धार्मिक विश्वास छ। कुनै पनि शुभ कार्य सुरु गर्नुअघि गणेशको पूजा गर्ने परम्परा हिन्दू धर्ममा प्रचलित छ। सुख, शान्ति, समृद्धि र सफलता प्राप्तिका लागि यस दिन शुद्ध मनले गणेशको आराधना गर्नु उत्तम मानिन्छ।

धर्मशास्त्रमा गणेश पूजाको विधि आह्वान, आसन, पाद्य, अर्घ, आचमन, स्नान, वस्त्र, गन्ध, पुष्प, अक्षता, धूप, दीप, नैवेद्य, ताम्बूल, दक्षिणा, आरती र परिक्रमासहित उल्लेख गरिएको छ।
गणेशलाई लड्डु प्रिय मानिन्छ। धार्मिक कथाअनुसार गणेशले आफ्नो वाहन मुसाबाट टाढाको तीर्थयात्रा गर्न नसकेपछि माता पार्वती र पिता शिवको परिक्रमा गरेका थिए। मातापिताको परिक्रमा नै सबै तीर्थको भ्रमणसरह भएको भन्दै पार्वतीले गणेशलाई दिव्य लड्डु प्रदान गरेको कथा पद्मपुराणमा उल्लेख छ। त्यसैले गणेशलाई लड्डु अर्पण गर्दा मातापिताप्रतिको भक्तिभाव सम्झनुपर्ने धार्मिक मान्यता छ।


गणेशलाई बुद्धि, ज्ञान र विघ्न निवारणका प्रतीकका रूपमा पनि पूजा गरिन्छ। मंगलबार मासु तथा मदिरा सेवन नगर्नु, जीवहत्या नगर्नुजस्ता मान्यता पनि धार्मिक परम्परामा पाइन्छन्।
गणेश पूजामा ‘ॐ गं गणपतये नमः’, ‘ॐ सिद्धि विनायकाय नमः’, ‘ॐ गजाननाय नमः’, ‘ॐ एकदंताय नमो नमः’ र ‘ॐ वक्रतुंडाय नमो नमः’ लगायत मन्त्र जप्दा शुभ फल प्राप्त हुने विश्वास छ।































