
काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले सभामुखले आफूलाई ‘मर्यादामा बस्न’ दिएको निर्देशनप्रति आपत्ति जनाउँदै जनताको समस्यामा सरकारसँग जवाफ माग्नु आफ्नो दायित्व भएको बताएकी छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा विदेशमा मृत्यु भएका नेपालीको शव स्वदेश ल्याउने विषय उठाउँदै तामाङले ३७ दिनसम्म आफूले धैर्य र सहनशीलता अपनाएको बताइन्। धादिङका सन्तोष राईको शव कम्बोडियाबाट नेपाल ल्याउन निरन्तर पहल गरे पनि समस्या समाधान नभएको उनको भनाइ छ।
‘सभामुखज्यू भन्नुहुन्छ, मर्यादामा बस्नुस्। ३७ दिनसम्म मैले राखेको धैर्यता र सहनशीलता मर्यादाभित्र पर्दैन र ?’ भन्दै उनले प्रश्न गरिन्।


पीडित परिवारका सदस्यलाई लिएर मन्त्रालय, प्रधानमन्त्रीको सचिवालय र सम्बन्धित निकायमा पटक–पटक धाएको उल्लेख गर्दै तामाङले सभामुखले भनेको कुरा स्वीकार गरेर मात्र बस्नु मर्यादा नभएको बताइन्। जनताको समस्या समाधानमा ढिलाइ हुँदा सदनमार्फत सरकारसँग जवाफ माग्नु सांसदको जिम्मेवारी भएको उनको भनाइ छ।
सामाजिक सञ्जालमार्फत उनले विगतमा सभामुखमाथि अनावश्यक आलोचना हुँदा आफूले नियमापत्ति गरेको स्मरण गर्दै अहिले पनि जनताको मुद्दामा जवाफ मात्र खोजेको स्पष्ट पारिन्।
विदेशमा अलपत्र नेपालीका शव स्वदेश ल्याउन अर्थ मन्त्रालयले बजेट विनियोजन गरे पनि आवश्यक कार्यविधि नबन्दा कार्यान्वयनमा समस्या रहेको विषय तामाङले निरन्तर उठाउँदै आएकी छन्। उनको दबाबपछि सभामुख डोलप्रसाद अर्यालले तामाङ र गोपाल शर्माले उठाएका विषयमा तीन दिनभित्र सरकारलाई जवाफ दिन निर्देशन दिएका छन्।































