
बलात्कारपछि हत्या गरिएकी सिमराकी तीन वर्षीया गरिमा चौधरीका आमाबुवासहित ६ जनालाई गृहमन्त्री सुधन गुरुङसँग वार्ताका लागि शनिबार काठमाडौं लगिएको छ।

बुद्ध एयरको शनिबार साँझ ५ बजेको उडानमार्फत उनीहरूलाई काठमाडौं लगिएको हो। वार्ताका लागि काठमाडौं जाने टोलीमा गरिमाका बुवा मनोज चौधरी र आमा मानमती चौधरीसहित अन्य चार जना रहेका छन्।
इलाका प्रहरी कार्यालय सिमराका प्रमुख दयाकृष्ण भट्टका अनुसार पीडित परिवार र सरोकारवालाको टोली गृहमन्त्रीसँग भेट गरी घटनासम्बन्धी विषयमा छलफल गर्न काठमाडौं गएको हो।


गरिमामाथि भएको जघन्य अपराधपछि दोषीलाई कडा कारबाही, पीडित परिवारलाई न्याय तथा सुरक्षासम्बन्धी विषयमा सरकारसँग छलफल हुने बताइएको छ। वार्तामा घटनाको अनुसन्धान, पीडित परिवारको माग तथा आगामी कानुनी प्रक्रियाबारे समेत छलफल हुने अपेक्षा गरिएको छ।
घटनाले स्थानीयस्तरमा आक्रोश सिर्जना गरेपछि पीडित परिवारले न्याय र दोषीमाथि कडा कारबाहीको माग गर्दै आएको छ। सरकार र पीडित परिवारबीच हुने वार्तालाई घटनाको निष्पक्ष अनुसन्धान तथा न्याय सुनिश्चित गर्ने दिशामा महत्वपूर्ण रूपमा हेरिएको छ।































