आजका लागि देशभर मनसुनी प्रभाव कायमै, यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना !

Image
Nisarga Hospital

काठमाडौंः देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था छ।

CP Hospital Dhangadhi

महाशाखाका अनुसार कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थान तथा गण्डकीको एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा तथा पहाडी भूभागका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। तराईका विभिन्न क्षेत्रमा पनि केही स्थानमा मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

nawajiwan
Attariya Hospital

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। यसले ती क्षेत्रमा पहिरो तथा सडक यातायातमा अवरोधको जोखिम बढाउन सक्छ।

आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। हिमाली, पहाडी तथा तराईका विभिन्न भूभागमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा वर्षाको सम्भावना तुलनात्मक रूपमा बढी रहने महाशाखाले जनाएको छ।