
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित छ। अहिले देशभर सामान्यतया बदली रही बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ। कोशी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थान तथा मधेसका एक–दुई स्थानमा पनि वर्षा जारी छ।

महाशाखाका अनुसार सोमबार देशभर सामान्यतया बदली रहनेछ। हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना छ। पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा वर्षाको सम्भावना छ। त्यस्तै, मधेस र कोशी प्रदेशका तराई क्षेत्रमा थोरै स्थानमा मेघगर्जनसहित वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
































