
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले टीकापुर घटनासँग सम्बन्धित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन्। थारू कल्याणकारिणी सभाले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले टीकापुर घटनाको सत्यतथ्य सार्वजनिक गरी न्यायोचित समाधान खोज्नुपर्नेमा जोड दिइन्।

हरेक वर्ष भदौ ७ गते टीकापुर विद्रोह दिवस मनाउँदै आएको सभाले यस वर्ष ‘टीकापुर विद्रोह, आन्दोलनका माग–मुद्दा एवं अबको निकास’ र ‘संविधानको अन्तरवस्तुमा थारू समुदायका साझा सवाल तथा संशोधनको आवश्यकता’ विषयमा अन्तरक्रिया आयोजना गरेको थियो।

मन्त्री चौधरीले थारू समुदायका माग र मुद्दा सरकारभित्रैबाट उठाउँदै आएको बताइन्। थारू समुदायको अधिकार, पहिचान र न्यायका सवालमा आफू निरन्तर आवाज उठाइरहने उनको प्रतिबद्धता थियो।

उनले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न आवश्यक पहल गर्ने तथा थारू समुदायका जायज माग सम्बोधन गर्न सरकार गम्भीर रहेको स्पष्ट पारिन्। टीकापुर घटनासम्बन्धी विवाद समाधानका लागि सत्यतथ्य बाहिर ल्याउनु र न्यायपूर्ण ढंगले अघि बढ्नु आवश्यक रहेको उनको भनाइ थियो। कार्यक्रममा थारू समुदायका अधिकार, पहिचान र संविधान संशोधनका विषयमा समेत छलफल गरिएको थियो।































