
प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने भएका छन्। संघीय संसद् सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद–९ बमोजिम सांसदले दर्ता गराएका प्रश्नको प्रधानमन्त्री शाहले जवाफ दिने सम्भावित कार्यसूची छ।

प्रधानमन्त्रीलाई प्रश्न सोध्न विभिन्न दलका ११ सांसदले प्रश्न दर्ता गराएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका कृष्णहरि बुढाथोकी, समीक्षा बाँस्कोटा र अमरेशकुमार सिंह, नेपाली कांग्रेसका वासना थापा र गीता गुरुङ तथा नेकपा एमालेका ऐनबहादुर महर र गणेशसिंह ठगुन्नाले प्रश्न दर्ता गराएका छन्।
यस्तै, नेकपाका वर्षमान पुन र प्रमेश हमाल, श्रम संस्कृतिका हर्कराज राई तथा राष्ट्रिय प्रजातन्त्र पार्टीकी खुस्बु ओलीले पनि प्रधानमन्त्रीलाई प्रश्न गर्ने कार्यसूचीमा छन्।


बैठकमा प्रधानमन्त्री शाहले मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ प्रस्तुत गर्ने कार्यक्रमसमेत रहेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल र भारतबीचको दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता सदनमा प्रस्तुत गर्नेछन्।
यसैबीच, आज विधायन व्यवस्थापन समिति तथा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकसमेत बस्ने संसद् सचिवालयले जनाएको छ।































