
रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि कैलालीबाट रोजगारीका लागि रसुवा पुगेका ३० भन्दा बढी कामदार सम्पर्कविहीन भएका छन्। उनीहरू बुधबार बिहानदेखि परिवारको सम्पर्कमा नआएपछि आफन्तहरू चिन्तित बनेका छन्।

टीकापुर नगरपालिका–१ समितिपुरबाट ठेकेदारमार्फत धुन्चे बजारनजिकै रहेको जलविद्युत् आयोजनाको सुरुङ निर्माणमा काम गर्न पुगेका उनीहरू बाढी आएपछि सम्पर्कविहीन भएका हुन्। स्थानीय अखिल चौधरीका अनुसार बाढी आउनुअघि कामदारहरू सुरुङ निर्माणको काममा गएका थिए।
कामदारलाई लिएर रसुवा पुगेका तुलाराम चौधरीसँग बुधबार बिहान एकपटक फोन सम्पर्क भएको थियो। त्यसपछि भने उनीसँग पनि सम्पर्क हुन नसकेको स्थानीयले बताएका छन्। बाढीले सडक तथा सञ्चार सम्पर्क प्रभावित भएकाले कामदारहरूको अवस्थाबारे यकिन जानकारी प्राप्त हुन नसकेको जनाइएको छ।


रसुवामा कैलालीसहित विभिन्न जिल्लाबाट रोजगारीका लागि पुगेका कामदार तथा कर्मचारीको अवस्थाबारे परिवारजनमा चिन्ता बढेको छ। विशेषगरी भोटेकोशी क्षेत्रमा आएको बाढीले ठूलो क्षति पुर्याएपछि सम्पर्कविहीन कामदारको अवस्था तत्काल पत्ता लगाउन आफन्तहरूले माग गरेका छन्।
आफन्तहरूले सम्बन्धित निकायलाई तत्काल खोजी तथा उद्धार अभियान तीव्र पार्दै सम्पर्कविहीन कामदारको अवस्थाबारे परिवारलाई जानकारी गराउन आग्रह गरेका छन्। बाढी प्रभावित क्षेत्रमा उद्धार कार्य जारी रहेकाले उनीहरूको अवस्था चाँडै सार्वजनिक हुने अपेक्षा गरिएको छ।































