
रसुवास्थित भोटेकोशी नदीमा फेरि एक्कासि बाढीको बहाव बढेको छ। नदीमा ठूलो आवाजसहित बाढी आएको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय रसुवाले पूर्वसूचना जारी गरेको छ भने बाढी पूर्वानुमान महाशाखाले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाका अनुसार रसुवा, नुवाकोट र धादिङ हुँदै बहने भोटेकोशी तथा त्रिशूली नदी आसपासका तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सजग रहन र आवश्यक परे सुरक्षित स्थानतर्फ सर्न अनुरोध गरिएको छ। बिहान ४ बजेर ३१ मिनेटमा प्राप्त सूचनाका आधारमा नदी किनारका बासिन्दालाई सम्भावित जोखिमलाई ध्यानमा राख्दै सतर्कता अपनाउन सूचित गरिएको हो।
जिल्ला प्रहरी कार्यालय रसुवाले नदीको अवस्था र सम्भावित जोखिमबारे निरन्तर निगरानी भइरहेको जनाएको छ। घटनासम्बन्धी थप विवरण तथा बाढीको कारण पुष्टि हुनासाथ सार्वजनिक गरिने प्रहरीले बताएको छ।


जल तथा मौसम विज्ञान विभाग र बाढी पूर्वानुमान महाशाखाले पनि नदीको जलसतह तथा बहावको अवस्था निरन्तर अनुगमन गरिरहेका छन्। यसअघि भदौ १० गते आएको विनाशकारी बाढीले रसुवा, नुवाकोटलगायतका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको थियो।
पुनः बाढीको बहाव बढेपछि नदी आसपासका बासिन्दालाई अफवाहमा नलागी आधिकारिक सूचना पछ्याउन, नदी किनारमा नजान र जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सर्न सम्बन्धित निकायले आग्रह गरेका छन्।































