भोटेकोशी बाढीमा २६१ विदेशी पर्यटकको उद्धार, अझै ३२० सम्पर्कविहीन

Image
Nisarga Hospital

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परेर सम्पर्कविहीन भएका विभिन्न १६ देशका २६१ विदेशी पर्यटकको उद्धार गरिएको छ। नेपाल पर्यटन बोर्डका अनुसार गोसाइँकुण्ड र कैलाश मानसरोवर यात्रामा रहेका पर्यटकमध्ये शनिबार साँझसम्म २६१ जनालाई सुरक्षित स्थानमा ल्याइएको हो।

CP Hospital Dhangadhi

बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मतसिंह ऐरका अनुसार उद्धार गरिएकामध्ये भारतका १६७, चीनका ४०, युक्रेनका आठ, जर्मनीका चार, माल्टाका चार, इटालीका तीन, अमेरिका र रसियाका दुई–दुई तथा बेल्जियम, बुल्गेरिया, ओमान, पोर्चुगललगायत देशका पर्यटक रहेका छन्। त्यस्तै, देश तथा परिचय खुल्न नसकेका २१ पर्यटकको समेत उद्धार गरिएको छ।

बाढीमा परेर अझै ३२० पर्यटक सम्पर्कविहीन रहेको पर्यटन बोर्डले जनाएको छ। प्रभावित क्षेत्रमा रहेका पर्यटकको खोजी तथा उद्धारका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी र अन्य सरोकारवाला निकाय परिचालन भएका छन्।

nawajiwan
Attariya Hospital

बाढीका कारण सडक तथा यातायात सम्पर्क प्रभावित भएपछि कतिपय पर्यटक विभिन्न स्थानमा अलपत्र परेका छन्। घाइते तथा जोखिममा रहेका पर्यटकलाई प्राथमिकताका साथ सुरक्षित स्थानमा ल्याउने प्रयास भइरहेको बोर्डले जनाएको छ।

पर्यटन बोर्डले ‘पर्यटकको सुरक्षा पहिलो प्राथमिकता’ भन्दै सबैलाई धैर्य र सतर्क रहन आग्रह गरेको छ। उद्धार तथा आवश्यक जानकारीका लागि टोल फ्री नम्बर १२३४, हटलाइन ११४४ र पर्यटन प्रहरीको ९८५१२८९४४५ मा सम्पर्क गर्न सकिने जनाएको छ।