
बाढीको जोखिम नरहेको सूचना प्राप्त भएपछि काठमाडौं–मुग्लिन खण्डमा रोकिएका सवारी साधन पुनः सञ्चालनमा आएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आइतबार बिहान रसुवाबाट पुनः बाढी आएको सूचना प्राप्त भएपछि नारायणगढबाट पोखरा, मुग्लिन र काठमाडौं जाने–आउने सबै प्रकारका सवारी साधन रोकिएका थिए।

बाढीको ठूलो जोखिम नरहेको पछिल्लो सूचना आएपछि रोकिएका सवारी साधनको आवागमन पुनः पूर्णरूपमा सुचारु गरिएको प्रहरीले जनाएको छ। प्रारम्भिक सूचनापछि काठमाडौं उपत्यकाबाट बाहिरिने सवारी साधन नागढुंगा क्षेत्रमा रोकिएका थिए भने चितवनतर्फ पनि विभिन्न स्थानमा सवारी साधन रोकिएका थिए।

जिल्ला प्रहरी कार्यालय चितवनले अहिले सबै प्रकारका रोकिएका सवारी साधनको आवागमन पूर्णरूपमा सञ्चालनमा आएको जानकारी दिएको छ। यद्यपि, बाढी तथा पहिरोको जोखिम कायमै रहेकाले यात्रुलाई सावधानी अपनाउन आग्रह गरिएको छ।

प्रहरीले जोखिमयुक्त नदी तटीय तथा पहिरो सम्भावित क्षेत्रमा नबस्न, अनावश्यक यात्रा नगर्न र सम्बन्धित निकायले जारी गर्ने सूचना तथा निर्देशन पालना गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ। मौसम तथा नदीको अवस्था परिवर्तन हुन सक्ने भएकाले यात्राका क्रममा विशेष सतर्कता अपनाउन पनि प्रहरीले आग्रह गरेको छ।































