
चितवन ः रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा बगेर आएका बेवारिसे शवहरूको व्यवस्थापन गरिएको छ।

भरतपुर महानगरपालिका–१ स्थित देवघाट जंगलमा आइतबार रातिसम्म सनाखत हुन नसकेका १९९ वटा शवको व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म नदी किनारमा २७२ वटा शव फेला परेका छन्। जसमध्ये १२ वटा शवको मात्र सनाखत भएको छ भने १९९ वटाको व्यवस्थापन गरिएको हो।


प्रहरी उपरीक्षक पौडेलले सबै शवको डीएनए नमूना सुरक्षित राखेर व्यवस्थापन गरिएको बताए। उनका अनुसार सनाखत भएका शव परीक्षणपछि परिवारले बुझेर लगिसकेका छन्। बेपत्ता परिवारको डीएनए मिलेमा पछि निकालेर दिन मिल्ने गरी संकेत चिह्न राखेर शव व्यवस्थापन गरिएको छ।
तथ्यांक अनुसार फेला परेका २७२ शवमध्ये ११० पुरुष, ६२ महिला, ७ बालक, ६ बालिका र ८७ वटा मानव अवशेष रहेका छन्।
नदी किनारमा अझै पनि शव फेला पर्ने क्रम जारी रहेकाले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीलाई खोजी तथा व्यवस्थापनमा परिचालन गरिएको छ।































