
एसीसी मेन्स प्रिमियर कप क्रिकेटमा नेपालले बहराइनलाई ८७ रनमै अलआउट गरेको छ। नेपालका कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै १० ओभरमा १४ रन खर्चेर ५ विकेट लिएपछि बहराइन ३६.२ ओभरमा ८७ रनमा समेटिएको हो।

टस हारेर पहिले ब्याटिङ गरेको बहराइनका लागि फियाज अहमदले सर्वाधिक १५ रन बनाए। मुहम्मद वासिमले १३ तथा अली दाउदले १० रन जोडे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।
नेपालका लागि सन्दीपले ५ विकेट लिँदा ललित राजवंशीले ३ तथा करण केसीले २ विकेट लिए। सुरुवाती बलिङमा आएका सन्दीपले पहिलो बलमै विकेट लिएर बहराइनमाथि दबाब सिर्जना गरेका थिए। उनले चौथो बलमै अर्को विकेट लिए।


सन्दीपले पाँचौँ ओभरमा थप एक विकेट लिए भने सातौँ र आठौँ ओभरमा लगातार विकेट निकाल्दै पाँच विकेट पूरा गरे। उनको घातक स्पिनसामु बहराइनका ब्याटर निरीह देखिए।
अब नेपालले ८८ रनको सामान्य लक्ष्य पछ्याउँदै प्रतियोगितामा विजयी सुरुवात गर्ने लक्ष्य राखेको छ। कप्तान सन्दीपको पाँच विकेटसँगै नेपाली बलिङ आक्रमणले प्रभावशाली प्रदर्शन गरेको छ।































