
रसुवा बाढी प्रभावित क्षेत्रसहित आसपासका जिल्लामा आज रातिदेखि पर्सि बिहानसम्म मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत क्षेत्रमा मध्यम वर्षा हुनसक्नेछ भने एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

महाशाखाले हाल नेपालभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यूनचापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही उत्तर तथा पूर्वतर्फ सरदर स्थान आसपास रहेको छ।
यसैगरी, भारतको पश्चिम बंगाल आसपास विकसित न्यूनचापीय क्षेत्रको प्रभावसमेत नेपालमा देखिएको महाशाखाले जनाएको छ।


भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित क्षेत्रमा यसअघि नै ठूलो क्षति भएकाले थप वर्षाले उद्धार, राहत तथा पुनर्निर्माण कार्य प्रभावित पार्न सक्ने देखिएको छ। सम्भावित वर्षाका कारण नदी तथा खोलामा जलसतह बढ्न, पहिरो जान र सडक अवरुद्ध हुनसक्ने भएकाले प्रभावित क्षेत्रका नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।
विशेषगरी जोखिमयुक्त नदी किनार, पहिरो सम्भावित क्षेत्र तथा कमजोर संरचनामा रहेका नागरिकले आवश्यक सावधानी अपनाउनुपर्ने देखिएको छ।































