
भोटेकोशी बाढीपछि बेपत्ता भएकी एक वृद्धाको सशस्त्र प्रहरीले नुवाकोटको बेत्रावती बजारस्थित एक घरबाट जीवितै उद्धार गरेको छ। सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार ती वृद्धाको घरभित्रबाट उद्धार गरिएको हो।

उद्धारका क्रममा उनी अचेत अवस्थामा भेटिएकी थिइन्। तत्काल उद्धार गरी स्वास्थ्य परीक्षणका लागि लगिएको र स्वास्थ्य परीक्षणपछि मात्र उनको अवस्था यकिन हुने थापाले जानकारी दिए। उद्धार गरिएकी वृद्धाको नाम, स्थायी ठेगाना तथा अन्य परिचय भने खुल्न सकेको छैन। बाढीपछि बेत्रावतीसहित आसपासका क्षेत्रमा बेपत्ता तथा फसेका नागरिकको खोजी र उद्धार कार्य सुरक्षा निकायले निरन्तर गरिरहेको छ।

बाढीका कारण विभिन्न स्थानमा घर तथा संरचना पुरिँदा प्रभावित नागरिकको खोजीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ। स्थानीयवासीको सहयोगमा समेत उद्धार अभियान जारी रहेको जनाइएको छ।
































