७२ वर्षको उमेरमा पाइन् नेपाली नागरिकता, अब सामाजिक सुरक्षा भत्ताको आशा

Image
Nisarga Hospital

बैतडी : दशरथ चन्द नगरपालिका–१, पितलथलाकी ७२ वर्षीया भुन्टी लुहारले जीवनको उत्तरार्धमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको छ। अविवाहित तथा बौद्धिक अपाङ्गता भएकी भुन्टीले बाल्यकालदेखि बुवाआमाको सहारामा जीवन बिताउँदै आउनुभएको थियो। बुवाआमाको निधनपछि दाजुको आश्रयमा रहनुभएकी उहाँ नागरिकता नहुँदा राज्यबाट प्राप्त हुने विभिन्न सेवा–सुविधाबाट वञ्चित हुँदै आउनुभएको थियो।

CP Hospital Dhangadhi

नागरिकता बनाउने प्रक्रियाबारे पर्याप्त जानकारी नहुँदा ७२ वर्षसम्म उहाँको नागरिकता बन्न सकेको थिएन। सामाजिक सुरक्षा भत्तालगायत राज्यका सुविधाबारे समेत जानकारी नभएकी भुन्टीको अवस्थाबारे जानकारी पाएपछि प्रमुख जिल्ला अधिकारी मीना अर्यालले चासो देखाउनुभएको हो।

Attariya Hospital

प्रमुख जिल्ला अधिकारी अर्याल स्वयं वडा कार्यालय पुगेर वडा कार्यालयमै भुन्टीलाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गर्नुभयो। नागरिकता प्राप्त गरेपछि भुन्टीले अब आफूले सामाजिक सुरक्षा भत्ता पाउने आशा व्यक्त गर्दै खुसी व्यक्त गर्नुभयो।

nawajiwan

“नागरिकता पाएँ, अब भत्ता पनि पाइन्छ भन्ने थाहा भयो,” उहाँले खुसी हुँदै भन्नुभयो। लामो समयदेखि राज्यको औपचारिक पहिचानबाट वञ्चित भुन्टीले नागरिकता पाएसँगै अब सरकारी सेवा–सुविधामा पहुँचको बाटो खुलेको छ।