सुदूरपश्चिममा कृषि उपज भण्डारणको क्षमता बढ्दै, ६ कोल्ड स्टोर निर्माण सम्पन्न

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेशका आठ जिल्लामा कृषि उपज भण्डारणका लागि १३ वटा शीत भण्डार (कोल्ड स्टोर) निर्माण अघि बढाइएकोमा छ वटा निर्माण सम्पन्न भएका छन् भने सात वटा निर्माणाधीन अवस्थामा छन्। कृषि विकास निर्देशनालय दिपायलका अनुसार अछाम र बाजुरामा २०–२० मेट्रिक टन क्षमताका कोल्ड स्टोर निर्माण सम्पन्न भएका छन्।

CP Hospital Dhangadhi
Attariya Hospital

डडेलधुरा, बैतडी र दार्चुलामा पनि कोल्ड स्टोर निर्माणको काम अघि बढिरहेको छ। डोटीको राजपुर र जोरायलमा आलु तथा तरकारी भण्डारणका लागि २०–२० मेट्रिक टन क्षमताका दुई कोल्ड स्टोर निर्माणाधीन छन्। कञ्चनपुरको पुनर्वासमा ३० मेट्रिक टन क्षमताको कोल्ड स्टोर निर्माण भइरहेको छ भने दोधारा चाँदनीमा ३० मेट्रिक टन क्षमताको कोल्ड स्टोर निर्माण सम्पन्न भइसकेको छ।

कैलालीको भजनी र चुरेमा २०–२० मेट्रिक टन तथा लम्कीचुहामा ३० मेट्रिक टन क्षमताका कोल्ड स्टोर निर्माण सम्पन्न भएका छन्। गोदावरीमा भने सबैभन्दा ठूलो ३५० मेट्रिक टन क्षमताको कोल्ड स्टोर निर्माण गरिएको छ।

तेह्रवटा कोल्ड स्टोर निर्माणका लागि प्रदेश सरकारले रु आठ करोड १५ लाख ९१ हजार लागत अनुमान गरेकामा रु छ करोड ६२ लाख नौ हजारमा ठेक्का सम्झौता भएको थियो। हालसम्म रु चार करोड तीन लाख ८३ हजार खर्च भइसकेको निर्देशनालयले जनाएको छ।

निर्माण गरिएका कोल्ड स्टोरमा प्रि–कुलिङ च्याम्बरसहितको व्यवस्था रहेकाले आलु, तरकारीलगायत कृषि उपज लामो समयसम्म सुरक्षित राख्न किसानलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ। दोधारा चाँदनीको कोल्ड स्टोर भने विद्युत् आपूर्तिको समस्याका कारण सञ्चालनमा आउन सकेको छैन।पालिकाले नयाँ ट्रान्सफर्मर जडान गरी छिट्टै सञ्चालनमा ल्याउने तयारी गरेको जनाएको छ।